काठमाडौँ, ३२ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्किएसँगै एमालेमा तीव्र रूपमा ध्रुवीकरण भइरहेको छ । पार्टी संगठनको केन्द्रदेखि जिल्लास्तरसम्मै दुई धार देखिन थालेका छन् । भदौ तेस्रो साता हुने विधान महाधिवेशनसम्म संस्थापन र भण्डारी पक्षमा नेताहरू अझै खुल्दै जाने देखिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तर रहने आकांक्षा देखाइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीले गत १४ असार पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । एमालेको एउटा पंक्तिले भण्डारीलाई भावी अध्यक्षका रूपमा हेरिरहेको छ । भण्डारी आफैंले पनि निकट नेताहरूसँग पार्टी नेतृत्वमा अघि सर्ने मनसाय व्यक्त गरिसकेकी छन् । त्यही कारण नेताहरूमा ध्रुवीकरण देखिन थालेको हो ।
एमालेबाट अलग्गिएर माधवकुमार नेपाल, झलनाथ खनाललगायतको समूह बाहिरिएपछि पार्टीभित्र ओली ‘सर्वाधिकार सम्पन्न’ अध्यक्षका रूपमा रहँदै आएका छन् । मंसिर ०७८ को महाधिवेशनबाट दोस्रो कार्यकालका लागि उनी अध्यक्षमा चयन भएपछि एमालेमा फरक मत राख्ने पक्षलाई निषेध गरिएको थियो । नेतृत्वसँग मत बझाउँदा कारबाही गरिएका दृष्टान्त नै छन् । पार्टी राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेर भण्डारीले ओलीको ‘सर्वसत्तावादी’ शैलीमा चुनौती सिर्जना गरेकी छन् ।
पूर्वमहासचिव मदन भण्डारीको जन्मजयन्तीका अवसरमा १४ असारमा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खुलेरै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसमेत उपस्थित थिए । पूर्वराष्ट्रपति भण्डारी राजनीतिक व्यक्ति भएकाले सक्रिय हुनु स्वाभाविक भएको पोखरेलको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन घोषणाप्रति ओलीनिकट नेताहरूले भने आपत्ति जनाउँदै आएका छन् । पछिल्लो समय अध्यक्ष ओलीले आफूसँग असन्तुष्ट नेताहरूसँग भेटघाट र छलफल गर्न थालेका छन् । ओलीलाई भेटेका एक नेताले भने, ‘ओलीले आफू र भण्डारी सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।’
आइतबार गृहजिल्ला झापा पुगेका ओलीले एमाले नेतृत्वमा भण्डारी आउने भनाइलाई ‘प्रतिक्रियावादीको खेल’ भनेर टिप्पणी गरेका छन् । ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन,’ उनले भनेका थिए, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हामी विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’
भण्डारीका पक्षमा खुलेका स्थायी कमिटी सदस्य कर्ण थापा फरक मत राख्नेलाई धम्की दिइएको बताए । संस्थापन पक्षले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय हुन रोक्न खोजेको पनि उनले आरोप लगाए । ‘प्रशंसाको झूटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकबच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीतिविरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैंभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए उहाँहरूलाई यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्छु,’ उनले भने, ‘कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ ।’
एमाले प्रवक्ता राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको नाम नलिई पार्टीभित्र ‘विचारविहीन’ गुटबन्दी सुरु भएको टिप्पणी गरे । ‘फरक धार हुन फरक विचार हुनुपर्छ । केही पदका लागि स्वार्थी समूह सक्रिय हुँदैमा फरक धार बन्दैन,’ उनले भने, ‘विचार र नीतिविहीन समूह सक्रिय हुनुको अर्थ छैन । फरक विचार छ भने विधि र नीतिमा रहेर आफ्ना कुरा राख्नुपर्छ ।’
केन्द्रीय सचिवालयमा यस्तो छ समीकरण
१९ सदस्यीय केन्द्रीय सचिवालयमा ओली पक्षमा सात र भण्डारीतिर पाँच जना रहेको नेताहरू बताउँछन् । उनीहरूका अनुसार छ पदाधिकारी तटस्थ छन् । सचिव टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा छन् ।
एक पदाधिकारीका अनुसार केन्द्रीय सचिवालयमा संस्थापनतर्फ अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट र पद्माकुमारी अर्याल छन् । भण्डारीतिर वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र रघुवीर महासेठ नजिकिएका छन् ।
उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल र गुरु बराल, सचिवहरू पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको एमालेका एक नेताले बताए । उनका अनुसार अर्थमन्त्री रहेका उपाध्यक्ष पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका सचिव गुरुङ ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहे पनि तटस्थ छन् । सचिव भट्टराई विगतमा पूर्वराष्ट्रपति भण्डारीनिकट भए पनि अहिले तटस्थ रहेको ती नेताले बताए ।
जिल्लामा पनि दुई धार
पछिल्लो समय जिल्लामा पनि प्रस्ट दुई धार देखिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीले एमाले राजनीतिमा फर्कने घोषणा गर्नुअघि नै भएका कतिपय जिल्ला अधिवेशनमा दुई प्यानल खडा भएका थिए । त्यसमा इतरपक्षलाई भण्डारीको ‘धाप’ रहेको बताइन्थ्यो ।
गत फागुनमा भएको मोरङ जिल्ला अधिवेशनमा भण्डारीनिकट नेताहरूले अजम्बर राईको नेतृत्वमा छुट्टै प्यानल तयार गरेका थिए । त्यही प्यानलले संस्थापन पक्षलाई हराएको थियो । विराटनगर महानगर कमिटीमा पनि भण्डारी पक्षको प्यानलै विजयी भएको थियो । मोरङमा विनोद ढकाल भण्डारीका पक्षमा खुलेर लागेका छन् ।
प्रदेश महाधिवेशनमा पार्टी नेतृत्वले घनश्याम खतिवडालाई अघि सारेर अध्यक्ष बनाएदेखि नै ढकाल असन्तुष्ट थिए । अध्यक्षको प्रतिस्पर्धामा उनी पराजित भएका थिए । मोरङ एमालेका सचिव सोमराज थापाका अनुसार कोशी एमालेमा अहिले ओली–भण्डारीबीच ५०/५० को अवस्था छ । नेताहरू खुलिसकेका छैनन् तर ध्रुवीकरण सुरु भइसकेको छ । कोशीका अन्य जिल्लामा संस्थापनबाट असन्तुष्ट नेताले भण्डारी पक्षतिर हिमचिम बढाउन थाले पनि खुल्न हच्किएका छन् ।
थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई भण्डारीको निकट सहयोगीका रूपमा देखिएका छन् । भण्डारीले गत जेठमा पूर्व क्षेत्र भ्रमण गर्दा राईले विमानस्थल पुगेरै स्वागत गरेका थिए । भण्डारीको भ्रमणमा राई प्रायः सँगै थिए ।
मधेश प्रदेशमा बारा अध्यक्ष अध्यानन्द पाण्डे भण्डारीको पक्षमा देखिएका छन् । अन्य जिल्लामा भने संस्थापन पक्षमै नेताहरू रहेका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बाँस्कोटा भण्डारीतिर छन् । मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल, प्रदेश सांसद एकलाल श्रेष्ठ पनि भण्डारीसँग नजिकिएका छन् ।
भण्डारी राष्ट्रपतिबाट निवृत्त भइसकेपछि गत वर्षको मदन भण्डारी जयन्तीमा बाँस्कोटाले काभ्रेमा आमन्त्रण गरेका थिए । त्यही कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कने संकेत गरेकी थिइन् ।
लुम्बिनीमा प्रदेशका सात जिल्ला अध्यक्ष ओली पक्षमा खुलेरै लागेका छन् भने पाँच जना तटस्थ देखिएका छन् । भण्डारीको पक्षमा भने कोही खुलेका छैनन् । रोल्पा अध्यक्ष अमृत बुढा, रुकुम पूर्वअध्यक्ष लीलामणि गौतम, बाँके अध्यक्ष नीरक गुरुङ, दाङ अध्यक्ष शिवकुमार आचार्य, अर्घाखाँची अध्यक्ष पीताम्बर भुसाल, गुल्मी अध्यक्ष बालसिंह काउछा र नवलपरासी पश्चिम अध्यक्ष दीपेन्द्र अधिकारी ओली पक्षमै छन् ।
गण्डकी प्रदेशका जिल्ला अध्यक्ष कोही पनि पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेका छैनन् । ओलीका पक्षमा तीन जिल्ला अध्यक्ष देखिन्छन्, अरू जिल्ला अध्यक्ष तटस्थ छन् । गण्डकी प्रदेशमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै समूह छ । अहिले तटस्थ जिल्ला अध्यक्ष अधिवेशनमा गुरुङले समर्थन गरेको समूहबाट निर्वाचित हुन् ।
कर्णालीमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेतका जिल्ला अध्यक्षले मुख खोलेका छैनन् । जिम्मेवारी नपाएका, संस्थापनबाट ‘पेलिएका’ नेताहरू भण्डारी खेमातिर ढल्किएका छन् । मुख्यमन्त्री यमलाल कँडेलको प्रभावका कारण कर्णालीका एमाले नेताहरू मौन बसेको देखिन्छ ।
सुदूरपश्चिममा भने ओलीविरोधी माहोल छ । पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेका कारण नेता तथा कार्यकर्ता ओलीप्रति रुष्ट छन् । स्थायी कमिटी सदस्य कर्ण थापा भण्डारीको पक्षमा खुलेरै लागेका छन् । कैलाली अध्यक्ष यज्ञ ढुंगाना र बाजुरा अध्यक्ष लालबहादुर वली ओली पक्षमा खुलेरै लागेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी जेठ तेस्रो साता पूर्वराष्ट्रपति भण्डारीसँग चीन भ्रमणमा गएका थिए । उनी बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्