काठमाडौँ, ३२ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका छन् ।
मन्त्री रामनाथ अधिकारी संयुक्त राष्टसंघीय खाद्य तथा कृषि सङ्गठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका छन् । दुई दिन सम्म चलेको एसिया र अफ्रिकाका कृषिसँग सम्बन्धित मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एसिया र अफ्रिकी देशहरूबिच अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।
मन्त्री अधिकारीले भने “जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठुलो स्रोत हुन सक्छ ”। उनले उच्च मूल्ययुक्त ठुलो अलैँची जस्ता उत्पादनहरूमा नेपालले ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।
यसै बिच मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबिच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरे ।
उनीहरुबिच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनामबिचको व्यापार प्रवर्द्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य, युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्