समाचार

खोलामा डुबेर दुई जनाको मृत्यु



धनगढी, २ साउन । कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो गौरीगंगा नगरपालिका–११ ऐठास्थित सुर्मा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामीको रहेका छन्। घरदेखि करिब ७ सय मिटर दक्षिण–पश्चिम रहेको सुर्मा खोलामा पौडी खेल्ने गएका उनीहरू डुबेर बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा उनीहरूको खोजी गर्दा दुवै जनालाई बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।