अर्थ

राजस्व सङ्कलनमा ९.४० प्रतिशतले वृद्धि



झापा, ३ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१–८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ९.४० प्रतिशतले बढी हो । 

कार्यालयले आव २०८०–८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१–८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । 

कार्यालयले आव २०८१–८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्यको ८६.११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।  

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट रु दुई करोड ८४ लाख, ब्याजबापत रु आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत रु ६३ करोड ६६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । 

 गत आव २०८१–८२ मा सबैभन्दा बढी ३९.९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । यसैगरी आयकरमा ४.२६ र मूल्य अभिवृद्धि करमा ३.७७ प्रतिशले राजस्व सङ्कलन बढेको छ ।