समाचार

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु



भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।