काठमाडौँ, ९ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ ।
त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ ।
भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए । त्यसमा गैर सार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए ।
नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालका अन्सुअर आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ । आव २०८१/८२ मा पर्यटक शुल्कबाट नपाले रु २९ करोड ११ लाखभन्दा बढी सङ्कलन गरेको छ ।
त्यसमा गैर सार्क पर्यटकबाट रु २३ करोड ३३ लाख ७८ हजार ७६० र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट रु पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ । आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले रु २७ करोड ४५ लाख सङ्कलन गरेको थियो । त्यसमा गैर सार्क पर्यटकबाट रु २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट रु छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो । नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन् । गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्