राजनीति

जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक : उपसभामुख राना



काठमाडौँ, ९ साउन । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी छन् ।

आज चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले जलवायु परिवर्तनको लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी हुन् ।  

‘विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्दै उपसभामुख रानाले हिमाली राष्ट्रको रूपमा नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको चर्चा गर्दै मौसम परिवर्तनका असरले हिमाली र ग्रामीण क्षेत्रका नागरिकमा त्यसको प्रत्यक्ष प्रभाव परेको बताइन् । 

उनले भनिन्, ‘जलवायु परिर्वतनका असर कम गर्दै लैजान, हरित ऊर्जा प्रवर्द्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ ।, ‘हामीले यो सङ्कट निम्त्याएनौँ, तर हामी समाधानको हिस्सा बन्न दृढ छौँ ।’