Banner News

कांग्रेस र एमालेको सहकार्यले जनतामा निराशा मात्रै जन्मायो : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ११ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको आरोप लगाएका छन् ।

गुल्मी–काठमाडौँ सम्पर्क मञ्चको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र नेतृत्वविरुद्ध भइरहेका योजनाबद्ध षड्यन्त्रहरूलाई परास्त गर्न सम्पूर्ण नेता, कार्यकर्ता र समर्थक एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । यसअघि भएका षड्यन्त्रहरू झैँ अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भएको बताए । अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध भइरहेको ‘सङ्गठित घेरा’लाई तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रहसमेत गरे । प्रचण्डले पार्टी अब फेरि एक्लै चुनावमा जाने तयारीमा रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘पार्टीलाई फेरि एक पटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ । त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरुद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ । हामीले एक्लै लड्दा चुनाव जितेका छौँ । अब ८४ सालमा पनि आफ्नै बलमा उठ्ने र जित्ने हाम्रो योजना छ। कांग्रेस र एमालेसँगको सहकार्यले जनतामा निराशा मात्रै जन्माएको छ।’