काठमाडौँ, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् रसियाको अध्यक्षमा सिताराम कटेल ‘मिलन’ निर्वाचित हुनुभएको छ ।
संघको आज भएको राष्ट्रिय अधिवेशनले कटेलको अध्यक्षतामा १७ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गराएको हो । २०२५ देखी २०२७ सम्मको लागि भएको कार्यसमितिको लागि अधिवेशनले अध्यक्ष मिलन, उपाध्यक्षमा उपाध्यक्ष सङ्ग्यान कार्की, उपाध्यक्ष अमितकुमार कर्ण, उपाध्यक्ष डा। प्रनिल प्रधान, महासचिव प्रविनकुमार खतिवडा, सचिव खगेन्द्र धामी, सचिव दयानिधि गुरागाईं, कोषाध्यक्ष रामबाबु पाण्डे, सह–कोषाध्यक्ष यमबहादुर थापा, युवा संयोजक गिभ्सन ढकाल, महिला संयोजक हेमकुमारी पोखरेल ‘कला’ निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्यकारी सदस्यहरूमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, बिनय रिजाल, सुजन रायमाझी, गौरव पौडेल निर्वाचित हुनुभयो । त्यस्तै आइसीसी सदस्यमा डा। मना मूर्ति भुर्तेल निर्विरोध निर्वाचित हुनुभयो । नयाँ कार्यसमिति जुलाई २७, २०२५ मा मास्कोस्थित नेपाली राजदूतावासको सभाहलमा शपथग्रहण गर्नेछ ।
सर्वसम्मत निर्वाचित भएसँगै अध्यक्ष कटेलले एनआरएनए रसियालाई रसियामा बसोवास गर्नुहुने सम्पूर्ण नेपालीहरुको अभिभावको रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई निर्विरोध निर्वाचित गराउनुहुने सम्पूर्ण महानुभवलाई हार्दिक आभार प्रकट गर्दछु । एनआरएनए रसिया सम्पूर्ण रसियामा वसोवास गर्नुहुने नेपालीको घर हो, जहाँ सवैलाई समान व्यवहार र सहकार्य हुन्छ ।’
एनआरएनएमा युवाको नेतृत्व आवश्यकता रहेको औल्याउँदै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीमा पहिलो प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । सुरक्षित, संगठित र समृद्ध बनाउने आफ्नो अभियान हुने उल्लेख गर्दै उहाँले संस्थागत सुधार, सामुहिता र सहकार्यको लागि आव्हान समेत गर्नुभयो ।
एभरेष्ट मिसनसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘एनआरएनएमा युवाको नेतृत्व आजको आवश्यकता हो । युवा पुस्ताले नेतृत्व सम्हाल्ने समय आएको छ । पुराना र नयाँ पुस्ताबीचको अन्तर हटाउँदै, अब हामी सक्षम युवा नेतृत्वको युगमा प्रवेश गर्दैछौँ । एक नेपाली, एक अभियान, सुरक्षि, संगठित र समृद्धि समाज अहिलेको अपरिहार्यता हो । संस्थागत सुधार र सामुहिता नै मेरो मुख्य प्राथमिकता रहेको छ । युवाको नविन विचार र युवा ऊर्जा व्यवहारमा रूपान्तरण गर्दै रूसस्थित नेपाली समुदायको विकासमा मात्र नभई नेपालकै समग्र विकासमा सकारात्मक योगदान पुर्याउन मेरो विशेष पहल हुने छ ।’










प्रतिक्रिया दिनुहोस्