Banner News

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छ : उपराष्ट्रपति यादव



काठमाडौँ, १३ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  

‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा टेवा पुग्न सक्छ । बाघ संरक्षित क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी आर्थिक लाभ लिन सकिन्छ”, उनले भने ।

उपराष्ट्रपति यादवले विश्वमा बाघको छाला, दाँत र हाडका लागि गरिने अवैध सिकारका कारण बाद्धको सङ्ख्या बट्दै जाँदा चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै तीव्र रूपमा बढ्दो वनजङ्गल फँडानी, डढेलो र अव्यवस्थित सहरीकरणका कारणबाट हुने वन विनाशले बाघको बासस्थान बर्सेनि सङ्कटमा परिरहेको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, “बाघ संरक्षणमा पछिल्लो दशकमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ, यो सफलता सरकार, स्थानीय समुदाय, सङ्घसंस्था र अन्तरराष्ट्रिय साझेदारहरूको प्रयासबाट सम्भव भएको हो । संरक्षित क्षेत्रहरूको सन्तुलित व्यवस्थापन, चोरीसिकारी नियन्त्रण, जनचेतना, जनसहभागितालगायत महत्त्वपूर्ण कदमबाट नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो, नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि उत्तिकै थपिएका छन् ।”