समाचार

भोटेकोशीमा आकस्मिक बाढी, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, १४ साउन । भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । 

चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेको हो । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको बताए ।

नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ ।