सुनसरी, १७ साउन । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति सुनसरीको दुहबीमा को६प ५२४१ नम्बरको मोटरसाइकल र को३२प १५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए । उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङहोममै उपचार भइरहेको छ ।
त्यसैगरी अर्को मोटरसाइकलको ६प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्