समाचार

चट्टान सहितको ठुलो पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध



काठमाडौँ, १९ साउन । कालीगण्डकी करिडोर आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका हुन् ।

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका –१ स्थित गरगरे, वडा नम्बर –२ को मिल्क र वडा नं–३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठुलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका  बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई  बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।