समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, २३ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

प्रहरीका अनुसार बेलगाछी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको मे१ख २७९६ नम्बरको सुर्योदय कम्पनीको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने वर्ष ६१ का तुलसीप्रसाद गुरागाईको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सिटी सफारीका चालक, सुनसरीको दुहबी नगरपालिका– ५ बस्ने वर्ष ४२ को बलबहादुर लिम्बु पनि गम्भीर घाइते भएका छन् । उनको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।