काठमाडौँ, २७ साउन । भारतले नेपालबाट थप दुई सय मेगावाट बिजुली किन्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार उक्त परिमाणको बिजुली आयात गर्न स्वीकृति दिएको छ ।
मध्यकालीन सम्झौताअनुसार नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट थप १९९.७० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति मिलेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे । ‘भारतले थप १९९.७० मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको छ,’ उनले भने, ‘यसअघि भारतले ९४१ मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको थियो । नेपालले अब ११४०.७० मेगावाट बिजुली निर्यात गर्छ ।’
प्राधिकरणले हरियाणा राज्यलाई मात्रै अब ४३५.२ मेगावाट बिजुली बिक्री गर्नेछ । यसअघि नै हरियाणालाई २३५.५ मेगावाट बिजुली बिक्री गरिरहेको छ । मध्यकालीन सम्झौताअनुसार चार वर्षका लागि हरियाणालाई बिजुली बिक्री गरिनेछ ।
नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने प्राधिकरणले जनाएको छ । ‘थप १९९.७० मेगावाट बिजुली पनि हरेक वर्ष जुन १५ देखि अक्टोबरको अन्तिमसम्म बिजुली बिक्री गर्ने गरी सम्झौता भएको छ,’ ढकालले भने । आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युत्को बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको उनले बताए ।
गत वर्ष १२५.८९ मेगावाट बिजुली बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा थियो । अघिल्लो वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रतियुनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो । यसमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क बेहोर्नु नपर्ने प्राधिकरणले जनाएको छ ।
मुलुकका १० जलविद्युत् आयोजनाबाट उत्पादित १२५.००४ मेगावाट बिजुली बिहारलाई बिक्री भइरहेको प्राधिकरणको भनाइ छ । नेपालले उक्त बिजुली कटैया, रक्सौल र रामनगरका १३२ केभी प्रसारण लाइनमार्फत बिहारलाई निर्यात गरिरहेको प्राधिकरणले बताएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईएक्स) को रियल टाइम मार्केट र डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा र विहार राज्यलाई बिक्री गरिरहेको छ ।
अब भारतीय बजारमा ३४ वटा आयोजनाबाट उत्पादित ११४०.७० मेगावाट विद्युत् बिक्री हुनेछ । यसका अतिरिक्त थप १० प्रतिशत बिजुली बिक्री गर्न सकिने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा भारतबाट आयात गर्ने गरिएको छ ।
नेपालले आर्थिक वर्ष २०८१/८२ मा भारतबाट १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको छ । सोही अवधिमा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । भारतमा १७ अर्ब १९ करोड ३२ लाख र बंगलादेशमा २६ करोड ६६ लाख ९८ हजार रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको हो । अघिल्लो आर्थिक वर्षदेखि खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले आईएक्सको रियल टाइम मार्केट र डे–अहेड बजारमा १४ आयोजनाको बिजुली बिक्री गर्दै आएको छ । प्राधिकरणका अनुसार २३.२८ मेगावाटको त्रिशूली, १४.५५ मेगावाटको देवीघाट, ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ५१ मेगावाटको लिखु चौथोको बिजुली बिक्री गर्दै आएको छ ।
यसैगरी २१.४४ मेगावाटको चिलिमे, २२.८० मेगावाटको सोलु खोला, २४.२५ मेगावाटको काबेली बी १, १९.४० मेगावाटको तल्लो मोदी, ३२.७० मेगावाटको अपर कालिङ्गढ, ३७.३० मेगावाटको अपर चमेलिया, २४.२५ मेगावाटको अपर दोर्दी ए र ३४.९२ मेगावाटको अपर बलेफी ‘ए’ को विद्युत् बिक्री गरिरहेको छ । नेपालले भारतको इनर्जी एक्सचेन्जको ‘डे–अहेड’ बजारमा २०२१ मे १ मा प्रवेश पाएको थियो ।
सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सोही वर्षको नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा प्रवेश पाएको थियो । प्राधिकरणले यसअघि १६ आयोजनाबाट उत्पादित ६९० मेगावाट विद्युत् निर्यातको अनुमति पाएको थियो ।
गत वर्ष थप १२ आयोजनाको स्वीकृति पाएसँगै नेपालले २८ आयोजनाको ९४१ मेगावाट विद्युत् निर्यात अनुमति पाएको थियो । चालु वर्ष थप ६ वटा जलविद्युत् आयोजनाको स्वीकृति पाएसँगै ३४ आयोजनाबाट ११४०.७ मेगावाट निर्यात गर्ने अनुमति पाएको हो ।
प्राधिकरणले नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय सम्झौताअनुसार गत १ असार (१५ जुन) देखि पुनः ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ । यसअघि गत १५ नोभेम्बर (३० कात्तिक २०८१) मा पहिलो पटक १२ घण्टा मात्रै बिजुली निर्यात गरिएको थियो । बंगलादेशलाई हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्ने सम्झौता छ ।
विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारत (एनभीभीएन) बीच १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन र भारत–बंगलादेशबीचको बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्छ ।
प्राधिकरणका अनुसार त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यातका लागि स्वीकृति छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि पनि स्वीकृति पाइसकेका आयोजना हुन् । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने सम्झौता छ ।
हरियाणामा बिजुली निर्यात स्वीकृति पाएका आयोजना
–५०.८९ मेगावाटको लिखु–२
–२८.२० मेगावाटको लिखु खोला ‘ए’
–८० मेगावाटको तल्लो सोलु
–२०.७० मेगावाटको ठूलो खोला
–१३.१० मेगावाटको सुपर काबेली खोला ‘ए’
–६.८१ मेगावाटको सुपर काबेली खोला
कान्तिपुर










प्रतिक्रिया दिनुहोस्