काठमाडौँ, २९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ ।
गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीका अनुसार आज बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।
बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको छ । वडा कार्यालय पनि जोखिममा परेको छ । गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका थिए । पानी परिरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुनसक्ने आशंकाले स्थानीय त्रसित छन् ।
विच्छ्या खोला कुवाडी खाेलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ । मानवीय क्षति भने हालसम्म भएको छैन ।










प्रतिक्रिया दिनुहोस्