राजनीति

अर्थतन्त्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्रीको दाबी



काठमाडौँ, २९ साउन । एक वर्षअघि आफूले सरकारको नेतृत्व गर्दाको तुलनामा अहिले अर्थतन्त्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।

बुधबार संसद्मा जानकारी दिँदै प्रधानमन्त्री ओलीले गत वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धि आफ्नो कार्यकालमा ४.६ प्रतिशत पुगेको दाबी गरे । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ खर्बले विस्तार भएको छ । ‘यो सरकार गठन हुँदा निर्माण ठप्प भई अलपत्र रहेको, ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको नारायणगढ–बुटवल पूर्वी सडक खण्ड स्तरोन्नतिको कार्य ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । आगामी वर्षसम्म यो सडक निर्माण सम्पन्न भइसक्नेछ,’ प्रधानमन्त्रीले भने, ‘मुग्लिन–पोखरा सडक आकर्षक बनेको छ । मुग्लिन–नौबिसे खण्डको काम पनि धमाधम भइरहेको छ । नागढुंगा–नौबिसे सुरुङ अबका केही समयभित्रै सञ्चालनमा आउनेछ ।’

यो एक वर्षभित्र तीन दर्जन ऐन कानुन संशोधन भएको र त्यसले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको प्रधानमन्त्रीको दाबी छ । ‘मुलुकका विभिन्न स्थानमा भएका विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलताबीच पनि राजस्व संकलनमा ११.३ प्रतिशतले वृद्धि भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारको कार्यकालको पहिलो ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३३ अर्ब पुगेको छ ।’ यस अवधिमा निर्यात ८१.८ प्रतिशतले बढेको छ भने चालु खाता र शोधनान्तर दुवै बचतमा छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च छ, यसले १४.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा वित्तीय क्षेत्रका सूचक सबल रहेको बताएका छन् । ‘वित्तीय पहुँच बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । जनसंख्याको करिब ४८ प्रतिशत बिमाको दायरामा आएको छ,’ ओलीले भने ।

आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी (फिच) बाट पहिलो पटक मुलुकको समष्टिगत वित्तीय अवस्था तथा साख क्षमताको यथार्थ चित्रण गर्ने नेपालको सार्वभौम साख मूल्यांकनको (सोभरन क्रेडिट रेटिङ) कार्य सम्पन्न गराइएको प्रधानमन्त्री ओलीले जनाए । उक्त मूल्यांकनबाट नेपालले दक्षिण एसियामा दोस्रो उत्कृष्ट बीबी माइनस रेटिङ प्राप्त गरेको छ, यसले लगानीका लागि नेपालमा राम्रो वातावरण बन्दै गएको उनको दाबी छ ।

‘नयाँ वित्त तथा मौद्रिक नीति जारी भएसँगै लामो समयदेखि संकटमा रहेको घरजग्गा तथा सेयर कारोबारमा सुधार भएको छ । अहिले बैंक तथा वित्तीय संस्थासँग पर्याप्त तरलता रहेको र लगानीका लागि ब्याजदरसमेत घटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कम्पनी रजिस्ट्रेसनको सेवालाई पूर्ण रूपमा अनलाइन गर्न थालिएको छ । कुल पुँजी ५० करोड रुपैयाँसम्मको वैदेशिक लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था उद्योग विभागले कार्यान्वयनमा ल्याएको छ ।’

गत आर्थिक वर्षमा स्टार्टअपका लागि ६६१ फर्म छानिएका थिए, तीमध्ये करिब ६ सय स्टार्टअप फर्मलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिइएको प्रधानमन्त्री ओलीले बताए ।

गत आर्थिक वर्षमा भारतमा १७ अर्ब ४५ करोडको विद्युत् निर्यात भएको छ । यो अघिल्लो वर्षभन्दा ३९ करोडले बढी हो । बंगलादेशमा पहिलो पटक विद्युत् निर्यात गर्न थालिएको छ । कुल विद्युत् निर्यातमध्ये भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड रहेको उनले बताए ।

भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण तथा ग्रिनफिल्ड टर्मिनलको निर्माण कार्य प्रारम्भ भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार र लोथरमा ग्रिनफिल्ड टर्मिनल निर्माण कार्य प्रारम्भ भएको छ । उपभोक्ता संरक्षण ऐनको व्यवस्थाबमोजिम काठमाडौंमा उपभोक्ता अदालत सञ्चालनमा आएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

अघिल्लोको तुलनामा गत आर्थिक वर्षमा झोलुंगे पुल निर्माण १ सय ६६ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री ओलीले जनाए । अघिल्लो आर्थिक वर्षका २ सय १० वटा झोलुंगे पुलसहित गत आर्थिक वर्षमा ५ सय ५९ वटा निर्माण भएका छन् । यसै अवधिमा नवलपरासीको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको प्रधानमन्त्री ओलीको दाबी छ ।