Banner News

भारतको विशेष महत्त्व : ओली-मोदी भेट बोधगयामा हुने



काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ ।

प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारी छ । प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भारतको औपचारिक भ्रमण गर्न लागेका हुन् । त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पुष्टि गरे ।

ओलीको भ्रमण कार्यतालिका तथा बोधगयाको रुट भारतीय विदेश सचिव मिस्रीको भ्रमणबाट तय हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । भ्रमण तयारीका लागि विदेश सचिव मिस्री आइतबार काठमाडौँ आउँदै छन् । उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।

सचिव मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ । भेटघाट सकेर सोमबार उनी फर्किनेछन् ।

प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिन विदेश सचिवलाई पठाउनु तथा द्विपक्षीय वार्ताका लागि दिल्लीबाहिरको स्थान रोज्नुलाई भारतले विशेष महत्त्व दिएको रूपमा बुझ्नुपर्ने परराष्ट्रका एक अधिकारीले बताए । उनका अनुसार दिल्ली बाहिर हुने भेटवार्तामा दुई नेताले एकअर्कासँग औपचारिकसँगै अनौपचारिक वार्ताका लागि पनि राम्रो समय पाउनेछन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन ।