समाचार

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि



काठमाडौँ, ३० साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।

पुनः स्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ । जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।

निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टरमा मात्र तारबार गरिएको भए पनि क्रमशः सन् २०१३ मा चार दशमलव पाँच हेक्टर, सन् २०१५ मा पाँच हेक्टर, सन् २०१७ मा १७ हेक्टर र सन् २०१९ मा सात दशमलव आठ हेक्टर थप गर्दै हालको क्षेत्रफलसम्म विस्तार गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कृष्णसारको सङ्ख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उनले बताए । “मन्त्रालय र विभागमा कृष्णसार व्यवस्थापनबारे कुरा राखेका छौँ”, उनले भने ।

उनका अनुसार वर्निखेडालगायत क्षेत्रमा प्राकृतिक वातावरणमा छाड्नेबारे सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पुनः स्थापना गर्ने प्रस्ताव पनि आएको उनले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१३ मा ३१ रहेको कृष्णसारको सङ्ख्या सन् २०१४ मा ३६, सन् २०१५ मा ३५, सन् २०१६ मा ४४, सन् २०१७ मा ५९, सन् २०१८ मा ६६, सन् २०१९ मा ८८, सन् २०२० मा एक सय १५, सन् २०२१ मा एक सय ४१, सन् २०२२ मा दुई सय चार, सन् २०२३ मा दुई सय ६१ र सन् २०२४ मा दुई सय ८७ पुगेको देखिन्छ । यसरी गत एक दशकमा कृष्णसारको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।