समाचार

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो



काठमाडौँ, ३० साउन । पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ ।

आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ । 

आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका कार्यालय प्रमुख अमृत कँडेलले बताए । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका थिए ।

१४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका थिए । आव २०७७/७८ मा सात सय ६२, आव २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । 

आव २०८१/८२ मा दर्ता र खारेज भएका उद्योगको सङ्ख्या थपघट गर्दा उद्योगतर्फ दुई हजार ९१७ र व्यवसायतर्फ दुई हजार ६९० वटा कायम भएको छ । गत वर्ष दर्ता भएका उद्योगमा दुई सय १७ जनालाई रोजगारी सृजना भएको छ । गत वर्ष पाँच सय ३२ उद्योग र छ सय तीन व्यावसायिक फर्मको नवीकरण भएको छ ।