अलास्का, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन् ।
शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबीच त्रिपक्षीय बैठक हुने संकेत गरे । सम्झौता शुक्रबार टुङ्गिन नसके पनि उनले वार्तालाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए—‘यो अर्थमा कि हामी निकै राम्रोसँग मिल्यौँ ।’
ट्रम्पले भने, ‘हामी युद्ध अन्त्यको धेरै नजिक छौँ, तर अन्ततः युक्रेनले यसमा सहमत हुनुपर्छ । सम्झौता गर्नै पर्छ । अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो । हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने बैठकको तयारी गर्दैछौँ ।’
ट्रम्पका अनुसार, पुटिनसँगको वार्तामा युक्रेन युद्ध अन्त्य गर्नका लागि भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनका लागि सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ भएको छ। उनले भने, ‘हामी धेरै कुरामा सहमत भएका छौँ, बैठक न्यानो माहौलमा भयो।’ उनले पुटिनलाई उनले ‘बलियो र कडा नेता’ भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्