नेपालगन्ज, ३१ साउन । बाँकेको नेपालगन्जमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए । दायाँ खुट्टामा गोली लागेका उनको उपचार नेपालगन्जस्थित सन्जिवनी अस्पतालमा भइरहेको छ ।
प्रहरीले कुमारसँगै नेपालगन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको छ ।
नेपालगन्ज-४ बसपार्क नजिक लागुऔषधको कारोबार भइरहेको सूचनाअनुसार लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार छापा मार्दा नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्