राजनीति

एमालेको विधान महाधिवेशनमा २३ सय ९२ प्रतिनिधि सहभागी हुने



काठमाडौँ, १ भदौ । आगामी भदौ २० देखि २२ गतेसम्म हुने नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा २ हजार ३ सय ९२ जना सहभागी हुने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनअनुसार एमालेको विधान महाधिवेशनमा करिब २४ सय प्रतिनिधि रहने भएका हुन् ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागीमध्ये २ हजार १ सय २८ जना प्रतितिनिधि र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् । 

२०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिपधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । 

शनिबार भएको बैठकमा महाधिवेशनलाई व्यवस्थित बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ ।  गौतमका अनुसार बागमती प्रदेश कमिटी, ललितपुर जिल्ला कमिटी, स्थानीय कमिटी र जनसंगठनहरूका तर्फबाट छुट्टाछुट्टै स्वागतद्वार राखिने भएको हो । 

यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ। स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायत जनसंगठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्युज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।