काठमाडौँ, २ भदौ । सुपरम्यान फिल्मका खलनायक जेनेरल जडको भूमिकाबाट चर्चित अंग्रेजी अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा निधन भएको छ ।
छ दशकभन्दा लामो आफ्नो अभिनय यात्रामा स्ट्याम्पले द एडभेन्चर्स अफ प्रिस्किला, क्वीन अफ द डेजर्ट, भालकायरलगायत चर्चित फिल्महरूमा अभिनय गरेका थिए। परिवारका अनुसार उनको निधन आइतवार बिहान भएको हो ।
‘उनी उत्कृष्ट अभिनेता र लेखकका रूपमा अमूल्य सम्पत्ति छाडेर गए, जसले वर्षौँसम्म मानिसहरूलाई छुनेछ,’ परिवारले विज्ञप्तिमा भनेको छ। ब्रिटिस फिल्म एन्ड टेलिभिजन एकेडेमी (बाफ्टा) ले उनको निधनप्रति दुःख व्यक्त गर्दै सन् १९६३ र १९९५ मा पाएका दुईवटा नामाङ्कनलाई स्मरण गरेको छ ।
२२ जुलाई १९३८ मा लन्डनको इष्ट स्टेप्नीमा जन्मिएका स्ट्याम्प सामान्य परिवारका थिए। ग्रामर स्कूलपछि विज्ञापन क्षेत्रमा करिअर सुरु गरेका उनले छात्रवृत्तिमार्फत नाट्य विद्यालयमा प्रवेश पाए । १९६२ मा रिलिज भएको बिली बड फिल्मबाट उनले पहिलो पटक मुख्य भूमिका पाए । सो फिल्ममा प्रदर्शनका लागि उनले अस्कर अवार्ड को बेस्ट सपोर्टिङ एक्टर को नामाङ्कन तथा गोल्डेन ग्लोब अवार्ड जितेका थिए ।










प्रतिक्रिया दिनुहोस्