राजनीति

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डल र सभामुखबीच भेटवार्ता



काठमाडौँ, ४ भदौ । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । 

काठमाडौँमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गरेका हुन् । 

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुखले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरेका थिए । भेटमा घिमिरेले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीहरूलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

सभामुखले दुई देशबिच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे ।