काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद सन्तोष परियारलाई बोल्न दिएका थिए । उनले लोकतन्त्रको विरासत धन्ने दलहरूले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जानकारी गराए ।
‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।
अहिले दुवै दलका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।










प्रतिक्रिया दिनुहोस्