काठमाडौँ, ५ भदौ । नेकपा (एमाले)का सचिव पद्मा अर्यालले तीज पर्व महिला एकता, सशक्तिकरण र सांस्कृतिक धरोहरकाे पर्व भएकाे बताउनुभएकाे छ ।
प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको तीज मिलन कार्यक्रमलाई सम्बाेधन गर्दै सचिव अर्यालले तीज पर्वकाे माैलिकपनकाे संरक्षण गर्नुपर्ने बताउनुभयाे । माैलिकपनलाई जाेगाउँदै आधुनिकता थप्दै यस पर्वलाई अगाडि बढाउनुपर्ने उहाँकाे भनाइ थियाे ।
पहिलेकाे पुस्ताले तीज पर्वलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको भन्दै सचिव अर्यालले अहिलेको पुस्ताले यसकाे मौलिकपनको संरक्षण गरेर मनाउनुपर्ने बताउनुभयाे । तीज पर्व खुशी, आँसु र इतिहासकाे पर्व भएकाे भन्दै उहाँले तीज फगत तीज मात्र नभएर परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकाे पर्व भएकाे बताउनुभयाे । पूर्व मन्त्री समेत रहनुभएका अर्यालले तीज गीत गाएर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे ।
कार्यक्रममा नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लैंगिक विभेद अन्त्यका लागि तीजकाे उपयोग गर्नुपर्ने बताउनुभयाे । महिला सशक्तिकरणमा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै उहाँले पार्टीकाे आसन्न विधान महाधिवेशमा महिलाका एजेण्डालाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता समेत जनाउनुभयाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले तीज पर्व विशेष पर्व भएकाे बताउनुभयाे । तीज आपसमा दुःखसुख साट्ने पर्व मात्र नभइ पत्रकारकाे हकमा व्यवसायिक पत्रकारिताकाे विषयमा छलफल गर्ने एउटा माध्यम समेत भएकाे बताउनुभयाे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रमा आवद्ध महिलाहरुलाई एक ठाउँमा भेला गराउने गरी याे तीजसँगै नयाँ सुरुआत गरिएकाे बताउनुभयाे । महिला पत्रकारकामाथि अनेक चुनाैती रहेका भन्दै उहाँले सधैं व्यस्त रहने पत्रकारहरुलाई यसरी भेटघाटकाे मेसाे मिलाउँदा अनुभव आदानप्रदान सँगै रिफ्रेस हुने अवसर मिलेकाे बताउनुभयाे । आगामी वर्षदेखि यस्ता कार्यक्रमलाई अझ परिमार्जन गर्दै अघि बढिने अध्यक्ष पाण्डेले बताउनुभयाे । महिलाका मुद्दामा एमाले र प्रेस चाैतारी अग्रपंक्तिमा रहेकाे उहाँकाे भनाइ थियाे ।
अग्रह पत्रकार बबिता बस्नेतले पहिलाकाे तीज र अहिलेकाे तीजमा धेरै फरक रहेकाे बताउनुभयाे । आफ्ना भावना तीज मार्फत मात्र व्यक्त गर्न पाउने अवस्था हुँदै अहिलेकाे अवस्थामा आइपुगिएकाे उहाँले बताउनुभयाे । तीजलाई महिला पत्रकारका सवाल र समस्यामा केन्द्रित गरेर अगाडि बढ्दा राम्राे हुने समेत बस्नेतले बताउनुभयाे ।
कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएकाे थियाे । कार्यक्रमा प्रेस चाैतारीसँगै प्रेस युनियन, समाजवादी प्रेस लगायत संगठनमा आवद्ध महिला पत्रकारकाे उल्लेख्य सहभागिता थियाे । विभिन्न संगठनमा आवद्ध पत्रकारलाई एक ठाउँ भेला पार्नेगरी प्रेस चाैतारी नेपाल महिला विभागले पहिलाे पटक यस्ताे कार्यक्रम आयाेजना गरेकाे हाे ।










प्रतिक्रिया दिनुहोस्