समाचार

चिप्लिएर खोलामा खसेकी बालिकाको मृत्यु



काठमाडौँ, ५ भदौ । अछाममा चिप्लिएर खोलामा खसेर बालिकाको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका ४ को सेलगाँउ बस्ने खडक साउँदको ७ वर्षीय छोरी कृति साउँदको खोलामा खसेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधि उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।

खोलामा बगेर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।