Banner News

कालापानी लिपुलेक कूटनीतिक पहलबाट प्राप्त गर्नुपर्छ : मन्त्री पौडेल



डोटी, ७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताएका छन् । 

डोटीको दिपायलमा शुक्रबार नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप लगाए । उनले नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने बताए । मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठ्ने विश्वास व्यक्त गरे । यो विषयमा सबै राजनीतिक दलहरू एक ढिक्का हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले भने, “कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ । सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ । हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ तर युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ । प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुपर्‍यो, अन्तर्राष्ट्रिय जगत्मा पनि हामीले यो विषय लिएर जान सक्नुपर्‍यो ।”