समाचार

लहान मुटु अस्पतालमा कम शुल्कमा गुणस्तरीय सेवा



काठमाडौँ, ९ भदौ । सिरहाको लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

करिब छ महिनाअघि अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ ।

काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ । 

हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन् भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ ।

अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो । डा साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।