काठमाडौँ, १२ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबीच लिपुलेक सम्बन्धमा भएको सहमतिको विषय उठाइने बताउनुभएको छ ।
भदौ ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै मन्त्री गुरुङले चीन र भारत दुई देशले नेपालको सहमतिविपरीत लिपुलेक प्रयोग गर्ने सहमति गरेको प्रस्ट पार्नुभयो । मन्त्री गुरुङले लिपुलेक सहमतिको विषयमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मात्रै नभएर चीन सरकार प्रमुख र राष्ट्रप्रमुखसमक्ष आफ्ना कुरा राख्ने बताउनुभयो । भारत र चीन दुवै देशलाई लिपुलेक नेपालको भूभाग हो भन्ने जानकारी भए पनि व्यापारिक प्रयोजनमा प्रयोग गर्ने सम्झौता गरेको भनी उहाँले असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका प्रधानमन्त्री चीन र भारत जान लागेकाले उक्त विषयमा आफ्नो कुरा राख्नुहुन्छ । उक्त विषय यस्ता फोरममा राख्ने विषय होइन । दुई पक्ष भेटमा प्रधानमन्त्रीले पक्कै पनि उक्त विषय उठाउनुहुन्छ भन्ने विश्वास छ । नेपालको लिपुलेक र कालापानी नाका प्रयोग गरेर चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्रीबिच व्यापारिक समझदारी भयो नेपालको लिपुलेक भएर भारत–चीन जोड्ने मार्गको विषयले हाम्रो देशको ध्यान तानेको छ । यसबारेमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरिसकेको छ । भारत र चीनका विदेशमन्त्रीका तर्फबाट जुन विज्ञप्ति जारी भयो, उक्त सम्झौता नेपालको सार्वभौमसत्ताविरुद्ध छ भनेर असहमति जनाइसकेका छौँ ।”










प्रतिक्रिया दिनुहोस्