काठमाडौँ, १२ भदौ । मधेश प्रदेशमा हैजाको प्रकोप फैलिरहेको छ ।
गएको २४ घण्टामा ११५ जना नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रकोप सुरु भएदेखि सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २ सय ५७ जना व्यक्ति पूर्ण रूपमा निको भइसकेका छन् भने २ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
वीरगन्ज महानगरपालिका अझै पनि हैजाको प्रकोप फैलिरहेको छ । नारायणी अस्पतालमा १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ भने पछिल्लो २४ घण्टामा ६२ जना नयाँ बिरामी भर्ना भएका छन् ।
अन्य अस्पतालहरूमा तराई अस्पतालमा ४२ सक्रिय, १० नयाँ सङ्क्रमित र वीरगन्ज हेल्थ केयर अस्पतालमा २४ सक्रिय, ८ नयाँ सङ्क्रमित बिरामीको उपचार भइरहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्