समाचार

कोशी ब्यारेजको ३१ ढोका खोलियो



काठमाडौँ, १६ भदौ । सप्तकोशी नदीमा पानीको सतह बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।

आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी भेगमा भइरहेको वर्षाका कारण जल सतह बढ्दै गएको प्रहरीले जनाएको छ ।