काठमाडौँ, २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल देशमा पूर्वाधार विकाससँगै धेरै विषय बदलिएको र बदलिँदो परिवेशमा मानिसका आकांक्षा पनि बढेको बताए ।
उनले भने, ‘देशभरि पूर्वाधार बनेको छ । देशभरि विकास भएको छ, थुप्रै कुराहरू बदलिएको छ । तर, यो बदलिएको सँगसँगै मान्छेहरूको आकंक्षाहरू पनि बढेको छ, जुन स्वाभाविक हो । हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् । म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोको महिनाको बचत दुई लाख छ । कमाइ अडाई लाख छ । मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कतिजना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०/५० हजार मान्छेभन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन । लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अपस्था छ । त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ । आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु, यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले । मेरो लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने/नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु । त्यो सपनालाई समात्छु ।’










प्रतिक्रिया दिनुहोस्