Banner News

एमालेको केन्द्रीय कोषमा चार वर्षमा ६६ करोड आम्दानी, साढे १४ करोड बचत



काठमाडौँ, २२ भदौ । नेकपा (एमाले)ले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा झण्डै ६६ करोड आम्दानी गरेको छ ।

ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा शनिबार पेश भएको लेखा आयोगको प्रतिवेदनअनुसार यस अवधिमा जसमध्ये सबैभन्दा बढी सदस्यता शुल्क र लेबीबाट करिब ३४ करोड आएको छ । जम्मा खर्च  ५१ करोड र कुल बचत  १४ करोड ५८ लाख रूपैयाँ देखाइएको छ ।

भवन निर्माण सहयोग वापत् विगतको समेत गरी १३ करोड (तुल्सीलाल प्रतिष्ठान भवन निर्माण र हालको ३ करोड २३ लाखसमेत) प्राप्त भएको लेखा आयोगको प्रतिवेदनमा उल्लेख छ । एमालेका अनुसार अहिले संघीय सांसदबाट पार्टीलाई मासिक १२ हजार लिने व्यवस्था छ, जसबाट करिब रू ५ करोड ४० लाख आम्दानी भएको छ । बैंक ब्याज करिब ३ करोड र बाँकी रकम प्रकाशन बिक्री तथा सहयोगबाट प्राप्त भएको उल्लेख छ ।

यसै अवधिमा तुल्सीलाल प्रतिष्ठानको वर्तमान भवन बनाउन ८ करोड ४६ लाख आम्दानी र खर्च भएको उल्लेख छ ।

प्रथम विधान महाधिवेशन खर्च ४ करोड ३७ लाख र दशौं महाधिवेशन खर्च ११ करोड ७ लाख भएको छ । गत स्थानीय र संसदीय निर्वाचनमा करिब ३ करोड ९४ लाख खर्च भएको छ। गत ४ वर्षमा पार्टीको सभा सम्मेलन र कार्यक्रममा भएको खर्च करिब ४ करोड २६ लाख छ । नियमित कार्यालय सञ्चालन खर्च १ करोड ५७ लाख छ ।