काठमाडौँ, २२ भदौ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
निजामती सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले समृद्ध नेपाल : सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले सोहीअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ ।
उपप्रधानमन्त्री सिंहले भने, ‘मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामती सेवाको मुख्य जिम्मेवारी हो । आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामती कर्मचारीहरूको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास लिएको छु ।’










प्रतिक्रिया दिनुहोस्