Banner News

देशभित्रबाटै समस्याको निकास निकालियोस्: ज्ञानेन्द्र शाह



काठमाडौँ, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् आग्रह गरेका छन ।

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।’ पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ ।

घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा तथा पूर्वराजपरिवारका सदस्यबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि संवाद सचिवालयले जनाएको छ ।