काठमाडौँ, २५ भदौ । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का ७० वर्षीय चन्दन मण्डल र ३९ वर्षीय गंगा प्रसाद मण्डल रहेका छन् । यसका साथै, भारतका २० वर्षीय अभिषेक प्रसाद र २५ वर्षीय रामतेश प्रसाद पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न सामानहरू समेत बरामद गरेको छ । बरामद भएका सामानहरूमा मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ र बीआर ३८ भी २१२९ नम्बरका दुई वटा मोटरसाइकल, ‘ग्रीन नेपाल’ लेखिएको १२ भोल्टको ७ वटा ब्याट्री, ३ वटा इन्भर्टर, १ थान सोफा र अन्य पुराना फर्निचरका सामानहरू रहेका छन् । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्