काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जबाफदेहितालाई कसैले पनि भुल्न नहुनेमा उनले जोड दिएका छन् ।
उनले सामाजिक सन्जालमा भनेका छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे । लोकतान्त्रिक ब्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रबृतीहरुका बारेमा नागरिक तहमा प्रश्नहरु उठ्नु, त्यस प्रति असहमती जाहेर हुनु, खवरदारी गर्नु, बिरोध वा आलोचना हुनु वा सरकार प्रति नै अरुची प्रकट भइ नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो । तर लोकतान्त्रिक हकको उपयोग गर्दैगर्दा राष्ट्र प्रतिको न्युनतम कर्तब्य, जिम्मवारी र जवाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्दछ । निरंकुशता र अधिनायकवादका बिरुद्ध लोकतन्त्रका लागि जिवनभर लडेका राजनीतिक दलहरु र नेतृत्वका लागी सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरु होइनन, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने बिषयहरु हुन । मुख्य वा महत्वको कुरा त मुलुकको स्वाधिनता, सार्वभौमिकता , राष्ट्रिय एकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्र को रक्षा तथा हाम्रा संवैधानिक प्रबन्ध हरुको जिवन्तता नै हो । संसदबाट लोकतान्त्रिक बिधी मार्फत बनेको अहिलेको सरकारले पनि जेनजि पुस्ताको सडकको आवाजलाई सम्मान गरेर अर्को नयाँ सरकार निर्माणका लागी मार्ग प्रसस्त समेत गरिसकेको छ । संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसदको अंकगणित बमोजिम सरकार निर्माण हुने र बिघटन हुने बिषय स्वभाबिक र नियमित संसदीय प्रकृया नै हो । यहि प्रकृया बमोजिम अब छिट्टै नै संसदले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्दछ । यसको पहल र समन्वय सम्माननिय राष्ट्रपति ज्युबाट शिघ्रातिशिघ्र हुनुपर्दछ । मुलुकमा सिर्जना हुने हरेक राजनितिक घटना र प्रश्नहरुको निरुपण तथा समस्याको वैध र सर्वस्विकार्य समाधान मुलुकको संवैधानिक प्रवन्धहरुले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ । क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालिन सोचबाट होइन । हाम्रो देशको संविधान, हामीले अवलम्बन गरिरहेको अहिलेको ब्यवस्था र प्रणालीबाट मात्रै हामी हाम्रो देशको सुन्दर भबिष्य निर्माण गर्न सक्छौ । यसबाट मात्रै हाम्रो अग्रजहरुले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधिनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौ । यतिबेला हामी र हाम्रो राष्ट्रका बिरुद्ध संविधान, ब्यवस्था र प्रणाली माथीनै खतरा उत्पन्न हुने गरि भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्ने तर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदुर भबिष्यका बारेमा सोचौं । तत्कालको इगोका आधारमा आफ्ना आफ्ना नीजि मामिलाहरुका बारेमा होइन ।’










प्रतिक्रिया दिनुहोस्