समाचार

१२ जना कैदी भारत पस्न खोज्दा पक्राउ



काठमाडौँ, २६ भदौ । नेपालका विभिन्न कारागारबाट भागेका १२ जना कैदीलाई भारत प्रवेश गर्न खोज्दा उत्तर प्रदेशबाट भारतीय सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी गिरफ्तारीहरू दुई छुट्टाछुट्टै स्थानबाट भएका छन् । सिद्धार्थनगरबाट आठ जना र महाराजगन्ज जिल्लाको सोनौली सीमा नजिकबाट चार जना पक्राउ परेका हुन् ।

सिद्धार्थनगरमा पक्राउ परेकामध्ये पाँच जना भारतीय र तीन जना नेपाली नागरिक छन् । नेपाली कैदीहरूमा हरिलाल (३५) र सुरज चौधरी (२९) रहेका छन्, जो यौन हिंसा र लागुऔषधसम्बन्धी अपराधमा जेल परेका थिए । भारतीय नागरिकहरू चोरी र लागुऔषध नियन्त्रण ऐन अन्तर्गतका अपराधमा संलग्न थिए ।

नेपालमा जारी हिंसात्मक प्रदर्शन र ठूलो सङ्ख्यामा भएका जेल ब्रेकका घटनापछि भारत-नेपाल सीमामा सुरक्षा जाँच कडा पारिएको छ । प्रहरी उपरीक्षक अभिषेक महाजनका अनुसार, ती फरार व्यक्तिहरूलाई खुनवा र अलिगढवा सीमा नाकाबाट नियन्त्रणमा लिइएको हो ।