राजनीति

नेतृत्व मात्रै परिवर्तन गर्नु ताजा जनादेशको अपमान: अध्यक्ष साह



काठमाडौँ, २८ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी केवल सरकार मात्रै परिवर्तन हुनु जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान भएको जनाएका छन् ।

अध्यक्ष साहले शुक्रबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेश विपरीत उही संविधान, पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गर्दै सरकारको नेतृत्व मात्रै परिवर्तन गरेर अगाडी बढ्ने विषय धोका भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने उनले बताएका छन् । संसद् विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढ्नु नै नेपाली जनताको माग रहेको जनाएका छन् ।

‘जेनजी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा मात्र सीमित गरी अघि बढ्ने धोकापूर्ण सम्झौता हामीलाई स्वीकार्य छैन । किनकि, समस्या केवल व्यक्तिमा होइन, गलत संरचना र भ्रष्ट प्रणालीमा छ, जसले केन्द्रदेखि प्रदेश र स्थानीय तह लगायत राज्यको सम्पूर्ण निकायलाई नै दूषित तुल्याएको छ,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सतहमा रमाउने होइन, गहिराइमा पुगेर समाधान खोज्न जरुरी छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको विद्रोहले देशमा व्याप्त बेथिति, लुट एवं भ्रष्टाचारको मूल जड वर्तमान सरकार, संसद् र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उहीँ पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी अघि बढ्ने कुरा जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान हो ।’