समाचार

जितिया पर्वको व्रत सुरु



काठमाडौँ, २९ भदौ । आजदेखि जितिया पर्वको व्रत सुरु भएको छ ।

सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आजदेखि जितिया पर्वको व्रत सुरु गरेका हुन् ।

पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलानी (मिथिलाका नारी)ले निराहार व्रत सुरु गरेका हुन् । पितृपक्ष पनि भनिने असोज कृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ ।

शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको हुँदा मिथिलानीले ‘ओगटन’ पछि उपवास सुरु गर्नुपरेको हो । अष्टमी तिथि आज बिहान ८ः४४ बजेदेखि सुरु हुने भए पनि व्रत भने शनिबार मध्यरातपछि सुरु भएको बर्दिबास–२ ॐ शान्तिचोककी बर्तालु नगिनादेवी महतोको भनाइ छ ।   

यो निराहार व्रत भोलि सोमबार बिहान ७ः०० बजेपछि समापन गर्न सकिने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा चाडपर्व, शुभकार्य र पितृकार्यसहितका सबै धार्मिक अनुष्ठान यिनै दुई पात्रोका आधारमा गरिने परम्परा छ ।