काठमाडौँ, २९ भदौ । जेनजी प्रदर्शनपछिको सरकारी खर्च व्यवस्थापनलाई ध्यानमा राखी अर्थ मन्त्रालयले सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ ।
विकसित परिस्थितिलाई ध्यानमा राख्दै भविष्यमा खर्च अभाव हुन नदिन तत्कालका लागि भुक्तानी प्रणाली बन्द गरिएको महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । “अहिलेको परिस्थिति र नयाँ सरकारको प्राथमिकतालाई ध्यानमा राख्दै खर्च प्रणाली बन्द गरिएको हो,” उहाँले भन्नुभयो ।
प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण सरकारलाई अतिरिक्त खर्च गर्नुपर्ने अवस्थामा त्यसलाई व्यवस्थापन गर्न पनि खर्चमा रोक लगाएको कार्यालयले जनाएको छ । नयाँ सरकार बनेको अवस्थामा फेरिन सक्ने प्राथमिकता र खर्चका क्षेत्रलाई पनि सम्बोधन गर्न कार्यालयले भुक्तानीमा नियन्त्रण गरेको हो ।
कार्यालयका अनुसार बुधबारसम्म सरकारको कुल खर्ब एक खर्ब २० अर्ब ७८ करोड पुगेको छ । त्यसयता सरकारी प्रणालीबाट कुनै खर्च भएको छ । बुधबारसम्मको कुल खर्चमध्ये चालुतर्फ ७० अर्ब ५३ करोड, पुँजीगततर्फ चार अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ४५ अर्ब ३२ करोड रुपियाँ खर्च भएको छ ।
सरकारले आर्थिक वर्षको अन्तिम साता तथा विशेष परिस्थितिमा खर्च प्रणाली बन्द गर्ने गरेको छ । अहिले गरिएको प्रणाली बन्द पनि लामो समय भने नहुने कार्यालयले स्पष्ट पारेको छ ।
भुक्तानी प्रणाली बन्द भए पनि सरकारले आफ्ना कर्मचारीका लागि नियमित रूपमा पठाउनुपर्ने मासिक तलबमा भने कुनै समस्या नहुने कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्