काठमाडौँ, ३० भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्वले मातेत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुभएको छ ।
जितिया पर्वको सोमबार शुभकामना दिनुहुँदै उपराष्ट्रपतिले आमाहरूले कठोर निर्जला उपवास बस्दै मातृत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुहुँदै ‘जिवित्पुत्रिका व्रत’ को नामले चिनिने यो पर्व मातृस्नेह, धर्म, प्रकृति र संस्कृतिप्रतिको श्रद्धाको अनुपम प्रतीक रहेको जानकारी दिनुभयो । उहाँले यो पर्वले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको विकासमा योगदान पुर्याउने विश्वासका साथ पुनः सम्पूर्ण नेपाली समुदायमा सुख, समृद्धि र सन्तानको कल्याणको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
उपराष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ, ‘‘जितिया पर्वका अवसरमा थारु समुदायले गर्ने ‘झमटा नाच’, मधेशी समुदायले मरुवा रोटी खाने परम्परा र पूजामा वनस्पतिजन्य सामग्रीहरुको प्रयोगसहित पर्वसंग सम्बन्धित पौराणिक कथा श्रवण गर्ने जस्ता कार्यले हाम्रो देश र समाजको विविधता र मौलिकता झल्काउँदछ । जितियामा प्रयोग गरिने केराको पात, घिरौला, तोरीको पिना, च्युरा, दही, फलफूल आदिले प्रकृतिप्रतिको सम्मान र जैविक जीवनशैलीको सन्देश पनि बोकेको छ । यी सामग्रीहरूले प्रकृतिप्रतिको श्रद्धा र जीवनचक्रको सम्मान दर्शाउँदै स्थानीय उत्पादनको संरक्षण र पर्यावरणमैत्री संस्कृतिको प्रवद्र्धनमा सघाउँदछ ।’’










प्रतिक्रिया दिनुहोस्