राजनीति

संविधान लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि : सभापति देउवा



काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई नेपाली जनताले लामो समयसम्म सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनमार्फत हासिल गरेको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

संविधान दिवस २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन आवश्यक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

शुभकामना सन्देशमा देउवाले भनेका छन्, “नेपाली काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि हो । संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनु पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ। वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प नै आज हामी सबैको साझा दायित्व हो ।”