राजनीति

कमजोरी सच्याउँछौं, समीक्षा गर्दछौँ : ईश्वर पोखरेल



काठमाडौँ, ३ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ‘एमालेभित्र अब के हुन्छ’  भनेर शंका गर्नेहरूप्रति लक्षित गर्दै पार्टीमा कुनै पनि प्रकारको विग्रह हुन नदिने बताएका हुन् ।

‘एमालेले अहिले केही नोक्सानी सहनुपरेको छ । हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ’ उनले भने, ‘देशव्यापी रूपमा संविधान दिवस मनाइरहँदा एमालेभित्र कहीँकतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनै पनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ ।’

पोखरेलले कमजोरीहरू सच्याउँदै अघि बढ्ने जिकिर गरे । ‘कमजोरीहरू सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ । बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ,’ उनले भने ।

उनले एमालेलाई नयाँ ढंगले अगाडि बढाउने बताए । ‘एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन,’ उनले भने ।

उनले थपे, ‘यो असंख्य हाम्रा अग्रज, शहीदहरूले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने बताए । उनले नेपाल बहुजाति, बहुभाषा, बहुधर्म र बहुसांस्कृतिक भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताए ।