राजनीति

महामन्त्रीद्वयको प्रस्ताव : मंसिरभित्र नियमित वा विशेष महाधिवेशन गरौँ



काठमाडौँ, ४ असोज । कांग्रेस कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

तर, सभापति शेरबहादुर देउवा पक्षका नेता र वरिष्ठ नेता डा. शेखर कोइरालाले यस विषयमा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत जानुपर्ने भन्दै असहमति जनाएका छन् । तत्कालको अवस्थामा पार्टीभित्र सहमति–एकतामा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । 

अब कार्यकाल थप्न नहुने र महाधिवेशन पनि मंसिरभन्दा पर धकेल्न नहुने थापाको भनाइ थियो । अर्का महामन्त्री शर्माले पनि थापाको प्रस्तावमा समर्थन जनाएका थिए । तर, उनीहरूपछि बोल्ने संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले सभापति देउवाको उपस्थितिमा र पार्टीको आन्तरिक एकतालाई ध्यानमा राख्दै केन्द्रीय समितिमा छलफल गरेर मात्रै यसबारे निर्णय गर्नुपर्ने धारणा राखेका थिए । 

बैठकमा नेता डा. शेखर कोइरालाले एकता र सहमतिलाई छाड्न नहुने उल्लेख गर्दै यसकै जगमा पार्टीलाई पविर्तनका बाटोमा लैजानुपर्ने बताएका थिए । ‘केन्द्रीय कार्यसमितिबाट सबै विषयको निर्धारण गरौँ । हामीले सहमति र एकतालाई कायम राखेर यसकै जगमा पार्टीलाई परिवर्तनको बाटोमा लैजानुपर्छ,’ कोइरालाले बैठकमा भनेका थिए ।