काठमाडौँ, ७ असोज । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ ।
‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन् ।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन् । उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन् । यसरी कयौँ हजार वर्षको तपस्याका कारण उनको शरीर कमजोर भए तापनि धैर्य र आत्मबलले तपस्या निरन्तर जारी राखिन् ।
ब्रह्मचारिणीको कठोर तपस्या देखेर माता मेनका चिन्तित भइन् र छोरीलाई रोकिन आग्रह गरिन् तर उनले अडिग रहिन् । यस तपस्याले तीनै लोकमा हाहाकार मच्चियो र देवता, ऋषि, मुनीहरू सबैले उनको प्रशंसा गरे । अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भने, ूहे देवी, आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन्। तिम्रो मनोकामना पूरा हुनेछ र चाँडै नै भगवान महादेव पति स्वरूप तिमीलाई प्राप्त हुनेछौ,ू भनी आशीर्वाद दिए ।










प्रतिक्रिया दिनुहोस्