विराटनगर, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटका बारेमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर पत्रकारसँग कुरा गर्दै शर्माले अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष छानबिनबाट सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिए । राज्यका निकायहरूले अनुसन्धान गरिरहेका भन्दै उनले त्यसैको नतिजालाई स्वीकार गर्नुपर्ने स्पष्ट पारेका छन् । ‘अनुमानले होइन, अनुसन्धानले मात्र सत्य देखाउँछ,’ उनले भने ।
उनले संकटमा परेको पार्टीलाई उत्थान गर्दै नयाँ सन्दर्भमा अघि बढाउनु अहिलेको अनिवार्य दायित्व भएको बताए। जेनजी आन्दोलनपश्चात पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको बहसबारे उनले मंसिरभित्र महाधिवेशन गर्ने तयारी आवश्यक रहेको प्रष्ट पारे । तत्कालै महाधिवेशनमा नजानुपर्ने मत पनि पार्टीमा रहेको स्वीकार गर्दै उनले साझा धारणा केन्द्रीय समितिबाट बन्ने जनाए ।
उनले जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीले पार्टी र देशलाई ठूलो क्षति पुर्याएको बताए । अब संकटलाई अवसरमा बदल्दै कांग्रेसलाई सुदृढ बनाउनुपर्ने आवश्यकता महामन्त्री शर्माले औंल्याएका छन् ।










प्रतिक्रिया दिनुहोस्