अर्थ

भदौमा २८ अर्बले बढ्यो आयात



काठमाडौँ, ८ असोज ।  भदौमा एक खर्ब ६२ अर्ब ११ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष भदौमा एक खर्ब ३४ अर्ब १६ करोड रुपियाँ बराबरको वस्तु आयात भएको थियो । जेनजी आन्दोलनकै बिच पनि भदौमा आयात गत वर्षको तुलनामा करिब २८ अर्ब रुपियाँले बढेको छ । 

भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन–भदौ) को अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्क अनुसार नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आवको दुई महिनाको तुलनामा १६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले दुई खर्ब ६२ अर्ब ५४ करोड रुपियाँ बराबरको वस्तु आयात गरेको थियो । 

निर्यात व्यापारमा पनि चालु वर्ष अत्यन्त ठुलो सुधार देखिएको छ । गत वर्षको दुई महिनाको तुलनामा वस्तु निर्यात ८८.५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्ष भदौसम्म नेपालबाट २५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो । 

विभागका अनुसार नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु बनेको छ, कच्चा भटमास तेल । विगत दुई महिनामा नेपालले २१ अर्ब ६४ करोड रुपियाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ ।

विभागका अनुसार दुई महिनामा २० अर्ब ४२ करोड रुपियाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि एक अर्ब ५८ करोड रुपियाँको गलैँचा, एक अर्ब ३८ करोड रुपियाँको सूर्यमुखी तेल र एक अर्ब ३१ करोडको पाम तेल निर्यात भएको विभागको तथ्याङ्क छ ।